बी. पी. स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेड
एघारौं वार्षिक साधारण सभा २०७५ मा प्रस्तुत
संचालक समितिका अध्यक्षको
मन्तव्य

प्रमुख अतिथि सम्माननीय पुर्वराष्ट्रपति डा.रामवरण यादवज्यू ,
विशिष्ट अतिथिज्यू,
अतिथिज्यूहरू, शेयर सदस्यज्यूहरू
उपस्थित महिला तथा सज्जनबृन्दहरू
र पत्रकार साथीहरू,

बी.पी. स्मृती सामुदायिक सहकारी अस्पताल लि.को एघारौँ साधारण सभामा उपस्थित हुनु भएका सम्पूर्ण शेयर धनी सदस्य तथा अन्य महानुभावहरूमा अस्पताल संचालक समिति तथा मेरो आफ्नो तर्फबाट हार्दिक स्वागत तथा अभिवादन अर्पण गर्न पाउँदा मलाई खुशी लागेको छ ।
देश र जनताको सेवा गर्ने उत्कृष्ट अभिलाशा सहित स्वस्थ जीवनका लागि सबै भन्दा उपर्युक्त सेवा स्वास्थ्योपचार नै हो भन्ने पवित्र भावनाका साथ यो संस्थाको जन्म भएको हो ।यसका लागि जननायक बी.पी. कोइरालाका प्रेरणादायी उद्गारहरूले हामीलाई सदैव मार्गदर्शन गर्दै आएका छन् । देशमा प्रचलित संविधानद्वारा प्रदत्त मौलिक हकलाई समेत हाम्रो संस्थाले सार्थक र सफल तुल्याउने सत्प्रयास गर्दै आएको छ ।निमुखा हुन् वा न्यून आय भएका, शिक्षित हुन् वा अशिक्षित, गाउँमा बस्ने हुन् वा शहरमा, सम्पूर्ण देशवासीलाई बी.पी स्मृति सामुदायिक सहकारी अस्पतालले न्यायोचित समानताको आधारमा गुणस्तरीय स्वास्थ सेवा एवं स्वास्थ शिक्षा उपलब्ध गराउँदै आएको व्यहोरा निवेदन गर्दछु ।
राष्ट्रियता, लोकतन्त्र र हामीले बुझेको समाजवादबाट नै जनताको मौलिक हकहरूको सार्थकता रहन्छ र सामाजिक न्यायस्थापित हुन्छ भन्ने कुरामा हामी विश्वास गर्दछौं ।प्रत्येक चेतनशील र सेवाग्राही नेपालीको अपेक्षा र मानव सभ्यताले देखेको आवश्यकताको सपना पनि यही हो भन्ने हाम्रो मान्यता छ ।मानव स्वास्थ्यको वृहत्तर पक्षमा उभिएको सिङ्गो विश्व एकातिर छ भने सामान्य आधारभूत स्वास्थ्य सेवाको पूर्ण पहुँच समेत नभएका हामी जस्ता देश एवं समाज अर्कोतिर छांै ।
विश्व स्वास्थ्य संगठन९ध्ज्इ०ले स्थापित गरेको न्यूनतम जन स्वास्थ्यको स्तर, निर्दिष्ट लक्ष र जारी भएका म्याण्डेटहरू मध्ये कतिपय,हाम्रो जस्तो मुलुकमा कागज वा अक्षरमा सीमित रहेको कमि कमजोरी हामीबाट छिपेको छैन । जन समुदायमा स्वास्थ्य सेवा र शिक्षा,आवश्यक गुण र परिमाणका साथ नपुग्नुमा नेपाल सरकारलाई मात्र दोष दिनु पनि उचित लाग्दैन । रचनात्मक दृष्टिकोणका साथ सोच्दा यस क्षेत्रमा लागेका हामी स्वास्थ्यकर्मीहरू एवं समाजसेवीहरू समेत समान रुपले जिम्मेवार हुनुपर्ने खाँचो छ । त्यस कारण जिम्मेवारी र खोट अन्यत्र पन्छाएर विद्यमान समस्याको समाधान नहुने हुँदा सरकारी, सहकारी र निजी क्षेत्र आपसमा मिलेर नै स्वास्थ्य क्षेत्रका समस्या र चुनौतीहरूलाई कुशलता पूर्वक सामना गर्न सकिन्छ भन्ने हाम्रो मान्यता छ ।हामो यस पवित्र ध्येयलाई सरकार बाट महत्वका साथ आत्मसात गरियोस भन्ने हामी चाहन्छौँ ।
विगतका वर्षमा यसै मञ्चबाट अभिव्यक्त गरिएका संस्थागत प्रतिबद्धता र कामहरूले सफलता पाएको यहाँहरू सबैमा जाहेर भएको र सबैले अनुभूत गर्न पाएको मेरो विश्वास छ । यस सम्बन्धमा महासचिव, कोषाध्यक्ष एवम् लेखासमितीको प्रतिवेदनबाट स्पष्ट नै हुनेछ ।यस ११औं साधारण सभाले आ. व. २०७४÷०७५ मा भए गरेका काम कारबाहीको समिक्षा गरि मार्गनिर्देशन दिने विश्वास लिएको छु ।
अस्पतालले आफ्नो भवनबाट सेवा सुचारु गरिसकेको छ । पहिलेको भन्दा थप सेवा सुविधाहरू– जस्तै बहिरङ्ग विभाग, आन्तरिक बिभाग, शल्यक्रिया कक्ष, आ.ई.सी.यू, एन.आई.सी.यू, पी.आई.सी.यू, आधुनिक प्रयोगशाला,आकष्मिक कक्ष आदिका सेवाहरू नयाँ भवनबाट प्रवाहित भइरहेका छन्, जुन यहाँहरू समक्ष जाहेर छ ।यसै संस्थाबाट संचालित भइरहेको कलेजले पनि आफ्नो गुणस्तर बढाएको कुरा भर्खरैको हेल्थ असिस्टेन्ट र स्टाफ नर्सहरूको परिणामले देखाएको छ हाल भएको स्तरबाट तल नझर्ने तथा यो भन्दा उच्चस्तर सम्म लैजाने हाम्रो लक्ष्य र प्रतिबद्धता छ । विगत वर्षहरु देखि नै कलेजका थप शैक्षिक कार्यक्रमहरू पनि सरकारबाट स्वीकृतिको लागि पहल गर्ने कार्य भैरहेको निवेदन गर्न चाहन्छु । कुनै पनि संस्था स्थापना गर्न जती सजिलो छ त्यति नै दिगो विकाश गर्न कठिन छ र संस्था बलियो बनाउन सञ्चालन समितिको जति योगदान आवश्यक छ त्यति नै शेयरधनि साथीहरुको सहयोगको पनि आवश्यकता पर्छ
आर्थिक व्यवस्थापनमा, मैले नवौं र दशौँ साधारण सभामा निवेदन गरेझैं, बैंकवाट ऋण लिई गरिएको छ । जम्मा शेयरपूँजि अन्दाजि छ करोड शेयरसंख्या ५२५, नेपाल सरकार बाट अनुदान रकम चार करोड भएको जानकारी गराउन चाहान्छु जसबाट नयाँ भवनका लागि चाहिने मेडिकल उपकरणहरू खरिद गरिएको व्यहोरा अवगत गराउन चाहन्छु , र चार्टर एकाउन्टेन्टको प्रतिवेदन अनुसार अस्पतालको सेवाबाट उठेको रकमले यी र यस्ता बैंकिङ ऋणहरू चुक्ता गर्दै लैजाने हाम्रो योजना छ ।शेयर सदस्यज्यूहरू तथा कर्मचारीहरूको लागि दुर्घटना बीमा तथा स्वास्थ्य उपचार वीमा जुन क्रमशः रू.एक लाख तथा पचास हजारको रहेको छ,यस वर्ष पनि निरन्तर रहेको छ । यसबाट हाम्रा केही साथीहरूले लाभ लिनु भएको छ र छुट भएका सबैमा बिमाको लाभ लिनुहुन यसै सन्दर्भका साथ मेरो आग्रह छ ।
हाल अस्पताललाई आधुनिक उपकरणहरूबाट सुसज्जित बनाईएको छ । यहाँहरू सबैले अवलोकन गरी सेवा तथा सुविधा लिन र यी सेवा–सुविधाको सन्देश सञ्चार गर्नुका साथै आ–आफ्नो स्थानबाट आवश्यक सहयोग पु¥याईदिनु हुन हार्दिक आग्रह गर्दछु ।
अन्त्यमा, यस संस्थाको प्रगति र प्रतिष्ठामा योगदान पु¥याउने शेयर धनी महानुभावहरू, स्वास्थ्य मन्त्रालय,विमा कम्पनी, पूर्व अध्यक्ष तथा पदाधिकारीहरू,यस कार्य समितिका पदाधिकारीहरू, लेखा समिति संयोजक तथा सदस्यहरू, चिकित्सक, स्वास्थ्यकर्मी, नर्र्स,शिक्षक, पत्रकार,सम्पूर्ण कर्मचारी वर्ग र अन्य शुभेच्छुक मित्रहरूमा हार्दिक धन्यबाद दिन चाहन्छु ।

धन्यवाद ।
जय नेपाल
डा. केदारनरसिंह के.सी.
अध्यक्ष
बी.पी. स्मृति सामुदायिक सहकारी अस्पताल लि.
बसुन्धारा, काठमाडौं ।